
![]() |
निरन्तर असफल सिनेमा दिइरहेको आर.आर प्रोडक्शनले कुनै एक दिन सफल हुने विश्वासका साथ नयाँ चलचित्र बनाउने तयारी गरेको छ । विगत ५ बर्षदेखि सिनेमा निर्माण गर्दै आएको यो कम्पनीले यस अघि ‘वन डे’, ‘कसम’, ‘धुवाँ यो नशा’ जस्ता सिनेमा निर्माण गरेको थियो ।
आर. आर कम्पनीका अध्यक्ष समेत रहेका निर्माता रामप्रसाद रिजालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘आज यो समयमा चलचित्र बजार गिर्दो अवस्थामा छ । यस क्षेत्रलाई नै आफ्नो कर्म क्षेत्र मानेर लाग्नेहरुले नै प्रयास नगरे पनि यस क्षेत्रको अवस्था झनै नराम्रो होला भन्ने कुरा सबैले वुझ्नु पर्ने भएकाले हामी हाम्रो प्रोडक्शन मार्फत एउटा सकारात्मक प्रयास स्वरुप नयाँ चलचित्र निर्माण गर्ने तयारीमा छौ ।’
यो कम्पनीले निर्माण गर्न लागेको नयाँ चलचित्रको नाम ‘केशरी’ राखिएको छ । चलचित्र लभ स्टोरीसँगै द्वन्द्वप्रधान हुने रिजालले जारी गरेको विज्ञप्तीमा भनिएको छ । लक्ष्मण रिजालको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा आर्यन सिग्देल, रज्वल शिलवाल, युवराज पोख्रेल कलाकारको रुपमा पक्का भैसकेका छन् । नायिका र अन्य कलाकारको छनोट कार्य भइरहेको बताइएको छ ।
चलचित्रमा रामेश्वर कार्कीको छायांकन, अष्ट महर्जनको द्वन्द्व, लोचन घिमिरेको संगीत रहनेछ । दिनेश रावत मुख्य सहायक निर्देशक रहनेे यो चलचित्रलाई रामप्रसादको साथमा विजय खनालले निर्माण गर्दैछन् । तिन वटा असफल सिनेमा दिएर राम्रैसँग डुबेपनि पछि नहटेको यो कम्पनीको नयाँ चलचित्रलाई दर्शकले कस्तो साथ दिने हुन् यो भने हेर्न बाँकी नै छ । चलचित्रको छायांकन मंसिरबाट सुरु हुनेछ ।

![]() |

Post a Comment