Headlines News :
Home » » आज गाइजात्रा, दिवङ्गत आत्माको सम्झना गरी मनाईदै

आज गाइजात्रा, दिवङ्गत आत्माको सम्झना गरी मनाईदै

Written By Admin on Wednesday, August 21, 2013 | 8:56 PM

६ भदौ, काठमाडौ । आज गाईजात्राका दिन वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना तथा मनशान्तिका लागि गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगर परिक्रमा गराउने परम्परागत प्रचलन रहेको छ ।
हिन्दुधर्म अनुसार गाईजात्रा पर्वका बारेमा पद्मपुराणमा उल्लेख गरेको पाइन्छ । यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरूले यमलोक प्रवेशपाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख छ ।
गाईलाई नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।
काठमाडौँ उपत्यकाका तीनै सहरमा मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज भाद्र कृष्ण प्रतिपदादेखि आठदिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
आजका दिन दिवङ्गत भएका आफन्तहरूको सम्झनामा गाईजात्राका सहभागीलाईर् श्रद्धालुहरूद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ ।
ऐतिहासिक प्रमाण अनुसार पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले “जनतालाई आ-आˆनो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू” भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ ।
यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा आज पनि जारी छ ।
भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिहरूप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छन् ।
जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमुना, काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तकहरू विशेष दर्शनीय छन् ।
भक्तपुरमा गाईजात्राका दिन धार्मिक परम्परा अनुसार भैरवको परालबाट निर्मित गाई (रथ) नगर परिक्रमा गराई सो दिनको गाईजात्रा विसर्जन गरिने प्रचालन रहिआएको छ ।
गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गर्ने र पत्रपत्रिकाहरूमा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गर्ने गरिन्छ ।
गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरामा पनि मनाइन्छ ।
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Love Story Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger